|
तामागी आज रोएको
छ !

बिहानीको शितको थोपा संगै
जुगा र झरी अनि जाडो संग लडदै
खुर्पा र हंसिया बोकी हिंडने
हाम्रा पुर्खाहरुको कर्म थलो
आज रोएको छ ।
रोएको छ, रोएको छ, रोएको छ
३०० वर्ष अघाडी
उदमे लामा र बिरसीङ
अनि मार्जा गुरुङले रचेको त्यो हाम्रो तामागी गांउ
कोही त अवश्य फर्केर आउलान्नी भनी, आज रोएको छ
हो हाम्रो तामागी आज रोएको छ ।
फाटेका ती स्याखुहरु
भाग्रां र आशकोट अनि कछाडहरु
नग्न ती खुटा अनि खाली ती पैदलहरु
केही छैन पर्वाह ती असिना अनि हुरीबतासको
लगलग काम्दै भीरपाखा र खरबारी अनि कान्लाहरुमा
लेक र गोठको जिवन बिताउंदै
हिंडने हाम्रा पुर्खाहरु
आज रोएको छ ।
हो हाम्रो तामागी आज रोएको छ ।
मंन्दिर, मठ अनि पौवाहरु, परालका ती
टौवाहरु
कोईली पनि अतीनै मौन छन यहां
कागहरुको चिच्चाहट छैन अब
भत्केका, ती पालीहरु
खण्डहर बनेका, ती देवलहरु
संभार बिहीन, ती म्हनेहरु
भुकदैनन अब यहां कुकुर पनि
कता कता, रोदन भरी, आवाज सुनीन्छ
भीर पाखा गुन्जीन्छ
हो हाम्रो, तामागी त, अब सांचै
रोएकोनै रहेछ
दशैं र तिहार अनि ल्होशार, अब यहां ईतीहांस भो
बराह थान र देबी थानमा छैनन, अब ती
भक्तजन अनि पुजारी हरु
सुसेलीको आवाज सम्मेत, सुनीदैन अब यहां
देउराली र भन्ज्याङ को त, यहां के कुरा
माछापुछ्रे र पंचासे समेत मौन
छन
धारा, पंधेरा, कुवा अनि चौतारी समेत चकमन्न छ
नौमती बाजा र सारङीको धुन, यहां अब बज्दैन कहिले
हो तामागी त, साह्रै बेहोल भएको छ
आंखा भरी आंशु बोकी, बेश गरी रोएको छ
हो
हाम्रो तामागी त, अब सांच्चै रोएको छ
लाली गुरांश फुल टीपी, लगाई दिने, छैनन अब
ती ठीटीहरु
डांफे मुनालको नाच हेर्ने, छैनन अब ती लाहुरेहरु
रोधी घरको मादलको धुन पनि, बिलीन भए अब
च्यागी गर्ने ती ठीटा अनि तरुनीहरुको, पर्खाई पनि छैन अब
मायालुको दुःख सुनी दिने समेत, कोही छैनन यहां अब
के भयो यहां, थहा छैन कसैलाई
रोदन र चिच्चाहट बाहेक, सुनीदैन यहां केही पनि
हो तामागी त, साह्रै बेहोल भएको छ
आंखा भरी आंशु बोकी, बेश गरी रोएको छ
हाम्रो तामागी त, अब सांच्चै रोएको छ
चुरोटको ठुटो र जडौरीको आशामा बसेको त्यो हाम्रो हली दाई
कछाड र आशकोट फाटेको त्यो टोपी
आउंछ अवश्य त्यो हाम्रो ढयाक्रे दाईको पनि एक दिन
अमीलो मही घुटुक्क निली, भुटेको मकै भाङग्रामा राखी
गोठ र पाखा बाख्रा धपाउंदै, अबहेलीत हाम्रो गोठालो दाई
युद्धले घाईते पारेका ती योद्धा, संझेर रुन्छन आज हाम्रो
पुर्खेली थलो
हो तामागी आज सांचै रोएको छ ।
सारङ्गीको धुनमा, गाईने दाईको गीत संगै ।
हो हाम्रो तामागी त अब, सांच्चै रोएकोनै रहेछ ।
डोलामा भोकै रुंदै बसेका, ति हाम्रा प्यारा भाई र बहिनी
भाले नबास्दै सुटुक्क हिंडने, त्यो हाम्रो लाहुरे दाई को कथा
गोधुंलीमा बाटो कुरेर, रुंदै बसेकी, ती हाम्री भाउज्युको
दर्दभरी व्यथा
निन्द्रै निन्द्रामा ढिकी जांतो गर्दै, पढ्न पनि नपाएकी, ती
हाम्री चेली बेटीको दुःख
आफ्नो भन्दा अर्काको बेसी चिन्ता लिने, ति हाम्रा पुज्यनीय बाबा
उकाली ओराली, खेती पाती गर्दै, हामीलाई दुध पनि खुवाउनु नपाएकी,
ती हाम्री प्यारी आमा
आफ्नो सन्ततीको माया अतिनै बोक्ने, ती हाम्रा बाजे
ढिंडो र भात पस्किंदा पस्किदैं, भोकै सु्त्ने, ति हाम्री
बज्यैको बाध्यता
नेम्जे न्होजा बाट कन्दमुल खांदै, तामागी पसेका, हाम्रा जिज्यु
बाजेहरुको गाथा
झलझली संझदै रुएको छ ।
हो त्यो तामागी, आज रोएको छ ।
न्याउली चरीको भाकामा, जुनेली चरीको तालमा ।
हो सांचै, हाम्रो तामागी आज रोएको छ ।
आंखा भरी, आंशु बोकी,
तामागी आज रोएको छ,
बांसुरीको धुनमा, गौंथली चरीको तालमा,
हो सांचै, हाम्रो तामागी, आज बेश गरी रोएको छ !
रक्षबन्धन
गुरुङ, बेलायत, 09/09/09
(Rachha
Bandhan Gurung MBE, United Kingdom, 09/09/09) |