तामागीका व्यापार व्यवशायीहरु
- एक लेख
के तामागीका
वासीन्दाहरु व्यापार व्यवशाय गर्न सक्षम थिएत । आउनुहोस यस विषयमा केही नजर
लगाई हेरौं ।
तामागीका वासीन्दाहरु खेती किसानी अनि सैनिक पेशामा मात्र हैन व्यापार व्यवशायमा
पनि हात हालेर सफलता हांसील गरेको थुप्रै उदाहारणहरु हामी सामु देखा परेको छ ।
यो लेखकको छोटो अनुसन्धान यहांहरुको सामु सरल नेपाली भाषामा सबैले बुझ्ने गरी
लेखेर टक्र्याएको छुं र आवश्यकता परेमा यहि लेख अंग्रेजी भाषामा लेखेर नयां
पिढींका युवा युवतीहरुलाई बुझाउने प्रयास हुने छ ।
गांउमा पनि सानो पसल खोलेर गाउंलेहरुलाई सुबिधा पुय्राएको उदाहारणहरु थुप्रै
पाईन्थ्यो । भोट बाट नुन ल्याएर आफ्नो समाजको सेवा गरेको कथाहरु हामी बेलाबखत
हाम्रा पितापुर्खाहरुबाट सुन्न पाईन्थ्यो ।
तामागी बाट चितवन, भैरहवा अनि पोखरा झर्ने क्रम शुरु हुदां तराई झर्नेहरुले त
खेती किसानीमा नै लाग्ने प्रण गरे तर पोखरा झर्ने हरुले भने अरु बिकल्पहरु खोज्नु
पर्ने बाध्यता आयो । र त्यसैको फलस्वरुप तामागीका मानीसहरु व्यापार व्यवशाय,
होटेल व्यवशाय, उधोग व्यवशाय,
यातायात व्यवशाय, पर्यटन व्यवशाय देखि लिएर कृषी
अनि अरु अन्य व्यवशायहरुमा हात हाल्ने क्रम जारी भयो । जुन अतिनै राम्रो कदम
थियो ।
व्यापार व्यवशायको विषयलाई लिएर कुरा गर्दा स्वर्गीय धनबहादुर गुरुङ को मलाई
झलझल याद आउंछ । यो कुरा ठीक ३० वर्ष अघाडी अर्थात ईशवी सम्बत १९७९ को कुरा हो
। त्यस बखत वहांको फ्यान्सी स्टोर भैरहवाको मुख्य व्यापारी सडक अर्थात हाई
स्ट्रीटमा थियो । र विशेष गरेर लाहुरेहरुले बिदेशबाट ल्याएका आधुनीक वस्त्रहरु
देखी लिएर सारी अनि लुगीं लगायत मखमलका लुगाहरु पाईन्थ्यो । त्यो देखेर यो लेखक
त्यस बेला अतीनै प्रभावित भएको थियो र ती दिनका कुराहरु यो मानसपटलमा अझैपनि
ताजानै भएको महसुश गर्दछ । केही वर्ष पछी वहां फेरी ठेक्का पट्टामा लाग्नु भयो
र सन्तोषजनक सफलता हांसील गरेपछी त्यस बेला गुरुङ समुहमा एक नमुना देखाउन सफल
हुनु भएको थियो भन्नुमा कुनै अतियुक्ती नहोला । त्यस पछि पनि वहांले माछापुछ्रे
संघको लागी सक्रिय रुपमा काम गर्नु भई आफनो गांउ अनि क्षेत्रको बिकाशमा ठुलो
सघाउ पुय्राउनु भएको ज्वलन्त उदहारणहरु हामी सामु अझै पनी प्रशस्त मात्रमा
पाईन्छ । तर भाग्यको खेल भनौ या दैवको खेल भनौ वहांले हामी सबैलाई छाडेर छिटैनै
जानु भयो जस्ले गर्दा हामीले हाम्रो सामुबाट एक सक्षम नागरीक गुमाउनु पय्रो ।
होटेल व्यवशायको कुरा गर्दो खेरी स्वर्गीय पुर्णबहादुर गुरुङ र स्वर्गीय फौदसिङ
गुरुङ को संझना आउनु स्वभाविकै हो । सिंगापुर पुलिस बाट अवकाश लिनु भए पछि
वहांहरु दुबैले होटेल व्यवशाय तिर लाग्ने बिचार बाट प्रेरीत भएर पोखराको बगर
ईलाकामा होटेल खोल्नु भयो । र यो ईशवी सम्बत १९७५ साल तिरको कुरा हो । स्वर्गीय
पुर्णबहादुर गुरुङ ले यती लज र स्वर्गीय फौदसिङ गुरुङ ले लेकाली होटेल खोल्नु
भई सबैलाई खेती कीसानी मात्र हैन जिवीका उपार्जन गर्नको लागी यहां अन्य थुप्रै
बिकल्पहरु पनि छन भनेर नमुना देखाउन सफल हुनु भयो ।
बिदेशी रोजगारीमा
मात्र निर्भर गरेर हुंदैन भनेर स्वदेशमानै नयां अवसरहरु खोजी बिभिन्न
व्यवशायहरुमा हात हाल्नु हुने हरुमा निम्न व्यक्तीहरु पर्न आंउदछनः
२०२० साल ताका स्वर्गीय पुर्णबहादुर गुरुङ (लेममै कोबारी सांईला) र
स्वर्गीय धनबहादुर गुरुङ (काईंली बज्यै) ले सिद्धार्थ राजमार्गमा
कुबिन्डे भन्ज्याङ र स्यांग्जा बिच भागको बाटो निर्माण गर्ने ठेक्का
लिनु भएको थियो । त्यस्तै प्रकारले २०२३ साल तीर स्वर्गीय मैना गुरुङले
बगरमा माथिल्लो तल्लामा यात्रु वासस्थान खोल्नु भएको थियो भने त्यसैको
भुंई तलामा देउबहादूर गुरुङ (च्याउरे दाई) ले चिया पसल खोल्नु भएको थियो
। स्वर्गीय कृष्णबहादुर गुरुङ (काईंली बज्यै) ले पनि २०२३ साल
तिर देउरालीमा चिया पसल खोल्नु भएको थियो । २०२६ साल ताका
स्वर्गीय सुबेदार डम्बर बहादुर गुरुङ (देउमानको बाबा), लेफ्टेनेन्ट खीम
बहादूर गुरुङ र स्वर्गीय पुर्णबहादुर गुरुङ (लेममै परा) मिलेर पोखरामा
यातायात व्यापार खोल्नु भएको थियो । २०२८ साल तीर लेफ्टेनेन्ट
खीम बहादूर गुरुङले पेट्रोलियम व्यापारमा हात हाल्नु भयो र वहां
हिमालयन पेट्रोलीयम पम्पको संस्थापक सदस्यहरु मध्ये एक हुनु हुन्थ्यो ।
२०५४ सालमा सुरेश गुरुङले पोखरामा रेष्टोरेन्ट खोलेर बस्नु भएको थियो
तर अहिले वहां काठमाण्डौं तिर बसोबास गर्नु हुन्छ । २०५५ सालदेखी
भरत गुरुङ (स्वर्गीय कृष्णबहादुर गुरुङ को छोरा - काईंली बज्यै) ले
पोखराको लेकसाईडमा बिदेशी पर्यटकहरुको लागी रेष्टोरेन्ट खोलेर बस्नु
भएको छ ।
गुरुङहरुले पनि व्यापार बिजनेसमा हात हाल्नु पर्छ भनेर नयां लहड चलीरहेको बखत
स्वर्गीय बिचारी गुरुङको प्रयासलाई पनि हामीले हृदायंगम गर्नु पर्ने देखीन्छ ।
वहांले पोखराको चिप्लेढुंगामा लगभग ३२ वर्ष जती अगाडी एक हार्डवएर पसल खोलेर
बस्नुभएको हामीले बिर्सन मिल्दैन ।
व्यापार विषयलाई लिएर छलफल गर्दा स्वर्गीय मेजर हिरालाल गुरुङको उल्लेख नगरे यो
लेख पनि अधुरोनै हुन जान्छ । व्यापारीक विचारधाराका नभएता पनी वहांको सफलतामा
व्यापारीमा हुनु पर्ने शहास अनि आकान्क्षाको साथसाथै दुरदर्शीता पनि थियो ।
चितवन झरेर एक नमुना देखाउन सफल हुनु भएकोमा वहांको योजना अन्तर्गत त्यस बखत
नारायणघाट बाट नारायणी नदीमा स्पीड बोट बाट भारत आवात जावात गराउने सपना साकार
नहुदैं वहां पनि यस सन्सारलाई अल्प आयुमानै त्यागेर जानु भयो ।
स्वर्गीय क्याप्टेन बलबहादुर गुरुङ
आई०डी०एस०एम० ले पनि सेनाबाट अवकास लिनु भए पछी खेती
किसानीमात्र हैन उधोग व्यापारमा पनि हात हाल्नु पर्छ भनेर घरेलु साबुन कारखाना
खोल्ने विचार लिएर निकै गृहकार्यहरु गर्नु भयो । तर त्यस बखत बजेटको अभाव अनि
बैंक हरुले गुरुङले पनि व्यापार उधोगमा हात हाल्ने र भनी व्यङ्ग छाडने प्रचलन
भएको बेला त्यो योजनाले पनि कुनै मुर्तरुप लिनु सकेन । र त्यस बखत गुरुङहरुमा
भेन्चर क्यापटलीस्टहरु पाउनु पनि त्यतीनै कठीन थियो ।
यस लेखमा सफल व्यापारीहरुको मात्र चर्चा नभई असफलतालाई पनि औंल्याउन सकेमा
त्यस बाट आगामी नया पिंढीका युवायुवतीहरुले पनि केहि पाठ सिक्न सक्लान भन्ने
हेतुले यस लेखकले त्यस पक्षका कुराहरुलाई पनि अंगाल्ने प्रयास गरेका छन् । आशा
छ त्यस बाट कसैलाई अनावश्यक आंच आउने र ठोस पुग्ने काम हुंदैन होला ।
अर्को कुरा के छ भने व्यापारमा लगानीकर्ताको रुपमा संलग्न भएको तर व्यापार
संचालनमा कुनै सक्रिय अनि ठोस भुमीका नभएको व्यक्तीहरुको नाम पनी यस लेखमा
समावेश भएका छैनन् ।
नेपालमा उधोग व्यापारको नयां संघर्षको आगमनको शिलशिला संगै स्वर्गीय मेजर
पुर्णबहादुर गुरुङले पनि रारा चाउचाउको अपार सफलता बाट प्रोत्सहान मिलेर वहांले
अरु अन्य सहासिलो कदमहरु चाल्नु भयो । जस्को फलस्वरुप गन्डकी ब्रीक्सको अवधारणा
उत्पन्न भएको थियो । त्यस उधोगले प्राबिधीक अनि अन्य थुप्रै कारणहरुले गर्दा
त्यती सफलता हांसील गर्न नसकेतापनि वहांको सहासिलो कदमलाई प्रसंशामुलक मान्नु
पर्दछ भन्ने यो लेखकको भनाई छ।
र त्यस बखत शेयर खरीद गर्नको लागी अनुरोध आउंदा यो लेखक ब्रिटीश सेनामा कार्यरत
भएको र आफनो प्रश्नको जवाफ कतै बाट पनि प्राप्त हुन नसकेपछि नचहांदा नचहांदै पनि
लगानी गर्न बाट पछाडी हटनु परेको थियो । यस लेखकको भनाई मुताबिक चाईनीज ईंटा
पोखरामा खपत हुने आधार कम भेटीएको कारणहरुमा ढुगांनै सस्तो अनि शुलभ भएको र
अत्याधीक निर्यात खर्चले गर्दा काठमाडौं देखी चितवन र भैरहवाको बजार संग
प्रतीसपर्धा गर्नु पर्ने समस्या मात्र नभई अन्य थुप्रै कठीनाईहरुको सामना गर्नु
पर्ने अडकलबाजीमा कसैबाट पनि सन्तोषजनक जवाफ पाउनु नसकेको हुनाले आफु सहभागी
हुन नसकेको महसुस गर्दछन् ।
व्यापार व्यवशायहरुमा अपार सफलता हांसील गर्न सक्ने सक्षम व्यक्तीहरुमा
क्याप्टेन यामबहादुर गुरुङको नाम सहजरुपमा अग्र पंक्तीमा आउंदछ । वहांले
ब्रिटीस सेनाबाट अवकाश लिए पछी थुप्रै व्यापार व्यवशायहरुमा हात हाल्नु भयो र
सोही अनुरुप सफलता पनि हांसील गर्दै अघाडी बढ्नु भयो । वहांले सर्वप्रथम
यातायात
व्यवसायमा हात हाल्नु भयो र त्यस व्यापारबाट वहांलाई धेरै सफलता मिले पछी फेरी
पोखरामा एक हार्डवएर पसल पनि खोल्नु भयो । त्यस पछी पनि वहांले अरु थुप्रै
व्यापारहरुमा संलगनता देखाउनु भयो र सफलताले कदम चुमे पछि वहां आफुलाई एक सफल
व्यापारीको रुपमा स्थापित गर्न सफल हुनु भयो र पछी समाजमा एक प्रतीस्ठीत
व्यापारीका रुपमा चिनीन पनि सक्षम हुनु भयो । फेरी थुप्रै संघर्षहरु पछी वहांले
पोखरा फाईनेन्स मार्फत आफुलाई एक सफल व्यांकरका रुपमा पोखरा वासीहरुलाई चिनाउन
सफल हुनु भएको थियो ।
तामागीको सफल एन्टरप्रेनरहरुमा अझ भन्नेनै हो भने श्री बैंशबहादुर गुरुङ को नाम
निकै अग्र पंक्तीमा आंउदछ । वहां पनि ब्रिटीश सेनाबाट रिडन्डेन्सीमा आउनु भए पछि
स्वदेशमानै केही गरेर खान्छु भनी प्रण लिएर लगभग ३४ वर्ष अगाडी अर्थात बिक्रम
सम्बत २०२९ सालतिर पोखरामा पोखरा ट्राभल्स एन्ड टुर्स र काठमाडौं को न्युरोडको
मुटुमा मा समेत सोही नाम भएको ट्राभल्स अफिस खोलेको बखत यो लेखक त्रीचन्द्र
क्याम्पस काठमाडौं मा बिज्ञानमा अध्यनरत थियो । तामागीमा जन्मेको एउटा गुरुङ
परीवारको व्यक्ती ले पर्यटकीय क्षेत्रमा हात हालेर यस प्रकारको सफलता हांसील
गरेको देखेर यो लेखक अचंमभीत मात्र हैन अतिनै प्रभावीत पनि भएको थियो । अहिले
वहां राष्ट्रीय स्तरमा एक सफल पर्यटकीय उद्धमीको रुपमा चिन्न सकीन्छ ।
समग्रमा
हेर्ने हो भने यी व्यापार व्यवशायहरुको सफलतामा संचालकहरुलाई मात्र श्रेय दिनु
गलत ठहर हुन जान्छ । सफल व्यापारीहरुको पछाडी संधै सफल लगानी कर्ताहरु हुन्छन ।
अर्थात सफल लगानी कर्ताहरुको धैर्यधारण गर्ने शक्ती र निरन्तर हौसला अनि सहयोग
नै सफलताको मुख्य श्रेय मान्नु पर्दछ । यो कुरा कसैले नकार्न मिल्दैन । सबैलाई
थहा भएकै कुरा हो व्यापार व्यवशायमा आफनै पैसा लगानी गरेर सफलता हांसील गर्ने
व्यक्ती बिरलै मात्रामा पाईन्छ ।
त्यस ताका बेलायतको लाहुरेहरुसंग पैसाको कुनै कमी थिएन तर ज्ञानको अभाव भने
प्रसस्तै थियो । लगानी गर्दा ज्ञानको अभावले गर्दा धेरै लाहुरेहरुले अनावश्यक
रुपमा ठुलो धनराशी गुमाउनु परेको ज्वलन्त उदाहरणहरु अझै पनि हामी सामु प्रशस्त
मात्रमा ताजानै भेटीन्छ । र व्यापार व्यवशाय अनि लगानी गरेर सफलतानै हुन्छ भनेर
किटान गर्नु पनि गलत हो ।
हरेक
सफलताको पछाडी पांच वटा महत्वपुर्ण कुराहरु लुकेका हुन्छन । र ती हुन सहास
अर्थात हार अथवा असफलता देखी डराएर बस्नु हुंदैंन । त्यस पछी लगनशिलता अथवा अथक
मेहनत अनि कडा परीश्रम । र जुनै काममा पनि आवश्यकता पर्ने अर्को अमुल्य बस्तु
अनुशासननै हो र त्यस पछी ज्ञान अनि अन्तमा संचार । यि सबै बक्सहरु टीक भएमा
मानीस अवश्य पनि सफल हुन्छ भन्ने लेखकको धारणा छ ।
चाईनीजहरुको उखान अनुसार सफल व्यापारीकताको लागी मुस्कान अतिनै महत्वपूर्ण
हुन्छ । तर व्यापारमा मुस्कानको प्रयोग गर्ने चाईनीजहरु यस लेखकले कमै भेटेका
छन । व्यवहारीक्तामा उनीहरुले आफ्नो लगनशिलता र कडा परिश्रमलाईनै बढी सफलताको
कारण मान्दछन्।
यस लेखकले पनि ब्रिटीश सेनाबाट अवकाश लिए पछि व्यापार व्यवशायमा लाग्ने अठोट
लिएको बखत देशको राजनितीक स्थिती र वातावरण अनुकुल नभएको हुनाले फेरी बिदेशनै
पलायन हुनु परेकोमा खेद प्रकट गर्दछन ।
अहिले
आएर नयां पिंढीका व्यक्तीहरुले पनि व्यापार व्यवशाय बाट जीवीका आर्जन गर्न
सकिन्छ भनेर उदाहरण देखाउन सफल भएकाहरु थुप्रै मात्रमा पाईन्छन । काठमाडौंमा
ट्राभल एजेन्सी खोलेर मेहनत गर्ने हरुमा हेमबहादुर गुरुङ देखी लिएर पोखरामा
ईन्टरनेट क्याफे खोली सफल हांसील गर्नेहरुमा बिजय गुरुङ पर्न आउंदछन । बिकाश
गुरुङ ले पनी आफनै घरेलु लगानी वाट यात्रु बस सेवा संचालन गरेको आज लगभग १५
वर्ष भन्दा वेशी भई सकेको छ । व्यापार सन्तोष जनक नै छ भन्ने बिकाश
गुरुङको भनाई छ ।
महिला तर्फ तामागी का दिदीबहिनीहरुमा स्वर्गीय सुबेदार हर्कराष गुरुङको माईली
छोरीले पोखराको लेकसाईडमा बोटीक अनि लुगा पसल खोलेर एक उदाहारण देखाउन सफल भएकी
छीन ।
बिदेशमा
बसेर पनि आफ्नै व्यापार व्यवशाय गरेर सफलता हांसील गर्न सकिन्छ भनेर
प्रयत्त्नरत भई उदाहरण दिनेहरुमा दिदी सुश्री रमीता गुरुङ र भाई ताराप्रकाश
गुरुङ लाई लिन सकिन्छ । लगभग तीन वर्ष अगाडी देखी अष्ट्रेलीयाको सिडनीमा
टेकअवे रेष्टोरेन्ट खोलेर सफलताको एक नयां आयाम थप्न सफल भएका छन यि दिदी अनी
भाई । र यि दिदी अनि भाईलाई नयां पिढींका युवा युवतीहरुका माझा एक प्रेरणामुलक
उदाहरणको रुपमा लिन सकिन्छ ।
नेपालको हालैको तथ्यांक अनुसार देशमा सबै भन्दा धेरै संख्यामा गरीब भएको
जातीहरुमा बाहुन हरु पर्न आउंदछन भने सबै भन्दा कम संख्यामा गरीबहरु भएको जातीमा
गुरुङ जातीहरु पर्न आउंदछन । यस्मा हामीले गुरुङहरुको द्धृढ संकल्प अनि लगनशिलता
र ईमान्दारीताको साथसाथै अनुशासन्तालाई नै मुख्य श्रेय दिएमा ठिक हुन्छ होला ।
त्यसमा पनि अझै बढी श्रेय त पारीवारीक सहयोग अनि समर्थन लाई नै दिनु पर्ने
देखिन्छ । तर कती गुरुङहरुमा के गलत अवधारणा भेटीन्छ भनेः अर्काको बुद्धीले राजा
हुनु भन्दा आफनै बुद्धीले जोगी हुनु राम्रो । र यस्को परीणाम धेरै ठक्कर खानु
पर्ने हुन आउंदछ । यो गलत अवधारणा लाई त्याग्न सकेमा गुरुङ हरुले अझै द्रुत
बिकाश गर्न सक्छन भन्ने यो लेखकको भनाई छ । हामी हरुमा भएको अर्को गलत प्रवृती
के छ भने आफुले गर्न नसक्ने तर अर्काले गरेकोमा रिस गर्ने । त्यस्मा हामीले
राम्रो गर्ने व्यक्ती लाई हौसला दिने र त्यसबाट आफुले पनि केहि सिकेर अगाडी
बढेमा सबैको भलो हुन्छ ।
चाईनीज को एक रोचक उखानले के भन्छ भनेः यदि तपांईले कोही व्यक्तीको भोक टार्नुको
लागी एक दिन माछा खुलाउनु भयो भने तपांईले त्यस व्यक्तीको एक दिनको मात्र भोक
टार्न सक्नु हुन्छ । तर तपांईले यदि त्यो व्यक्ती लाई माछा मार्न सिकाउनु भयो
भने तपांईले त्यस व्यक्तीको जिवन भरीको भोक टार्न सक्नु हुन्छ ।
गुरुङ हरुमा भएको एउटा राम्रो भनौ या नराम्रो भनौं अत्यधिक अनि अनावश्यक
प्रतिस्पर्धा जस बाट राम्रा देखि नराम्रा नतीजाहरु समेत प्राप्त भएको ज्वलन्त
उदहारण हरु हामी सामु प्रशस्त पाईन्छन् । स्वस्थ प्रतिस्पर्धा को अनुशरण गरेर
प्रगतीको शिखरमा पुग्ने गुरुङ मुलका मानीसहरु पनि निकै धेरैनै भेटीन्छन । यो
एउटा गौरवशाली कुरा हो ।
आशा छ भविष्यमा हामीले हाम्रो सामु तामागीका थुप्रै नयां सफल एन्टरप्रेनरहरु
राष्ट्रीय अनि अन्तराष्ट्रीय स्तरमा देखीन पाईन्छ होला ।
अन्तमा समयको अभाव अनि सही सर सल्लाह अनि सुझाउको दुर्लभताको कारणले गर्दा यस
लेखमा केहि छुटपुट अनि त्रुटीहरु अवश्य पनि भएका छन होलान । र सहि सुझाउ र
सल्लाह पाएमा भविष्यमा फेरी समय निकालेर यस विषयमा सुधारहरु अनि अरु अन्य नयां
रोचक लेखहरु देखी लिएर गीत अनि कथा कवीता का साथ साथै अन्य नयां
रोचक सामग्रीहरु
लिएर फेरी तपांईहरुको सामु आउने प्रयत्न रहने छ । धन्यवाद ।
R Gurung MBE
07/06/09
Feedbacks and comments:
I recently had a chance to read a
Nepalese Article on "Involvement of Tamagi residents in business
and other vocation" written by Mr R Gurung MBE (I suppose it would
be Mr Rachha Gurung - forgive me if otherwise).
This article is highly structured and
written in fluent Nepalese. However, as a feedback, words
like "yaniki" could have been replaced by "arthat", and therefore
would sound more Nepalese.
In conclusion, the article throws a
deep insight of Tamagithemes' involvement in business and other
areas.
Congratulation on publishing such an
article. Please keep up the hard work.
Definitely, such an article in Nepalese script deserves a great
thank you. Regards. Min
Gurung, Melbourne, Australia |